निवेदन फाराम र जग्गा नापजाँच विधीको परिक्षण तथा अवलोकन

भूमि सम्बन्धी समस्या समाधान आयोगको टोलीले वेलका नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोवासीको विवरण संकलन र भूउपग्रह चित्रमार्फत गरिरहेको जग्गाको नक्शाकंन कार्यको अवलोकन गरेको छ । यस क्रममा आयोगको प्रविधीक टोलीले नगरपालिकाको वडा नं. ३ सालघारी टोलको टोटल स्टेशन विधीमार्फत जग्गा नापजाँच समेत गरेको थियो । २०७७ असोज ११ देखी १६ गतेसम्मको टोलीमा आयोगका विज्ञ सदस्य जगत देउजा, सदस्य गोपाल गुरागाई, प्रमुख नापी अधिकृत मणी रेग्मी, सर्भेयर राम चन्द्र भण्डारी र टिका प्रसाद जोशी रहनु भएको थियो । 

आयोगले भूमिहीन र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गर्न प्रयोग गरिने विधी र प्रक्रियाको परिक्षण एवं स्रोत, समय, जनशक्ति आदिको विश्लेषण गरिरहेको छ । यसक्रममा टोली वेलका पुगेको थियो । वेलकामा टोलीलाई नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले भईरहेका प्रयास र सोको सिकाईहरु प्रस्तुत गर्नु भएको थियो । भूमिहीन तथा अव्यवस्थित बसोवास ईकाईकी संयोजक मनिशा राई र नगरपालिकाका सल्लाहकार नारद निरौलाले फिल्ड संयोजनको कार्य गर्नु भएको थियो ।

यसक्रममा आयोगले तयार पारेको भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको विवरण संकलनका लागि तयार पारिएको निवेदन फारामको समेत परिक्षण गरी त्यसका सिकाईका आधारमा निवेदन फाराम संशोन गरिएको छ । आयोगको प्रविधिक टोलीले २०७७ असोज  २७ देखी चितवन र तनहुँको परिक्षण गरी प्रतिवेदन तयार पार्ने योजना छ ।